January 11, 2026
गणेश राई, योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण माघ महिनामा हुने भएको छ । योगिनी युवा क्लबको आयोजनाम हुने प्रतियोगिता बाँके खजुरा गाउँपालिका वडा नम्बर २ गौघाट स्थित योगिनी माविको खेल मैदानमा हुनेछ । आइतबार बसेको क्लबको बैठकले प्रतियोगिता माघ १५ देखि आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता तयारी अब तिव्र गतिमा अगाडी बढाउने योगिनी युवा क्लबका अध्यक्ष कमल पुन मगरले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक काम गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हौं । प्रतियोगिताले स्थानीय स्तरबाट प्रतिभावान खेलाडी उत्पादनमा पनि सहयोग गर्नेछ ।’ प्रतियोगितामा लुम्बिनी प्रदेशका क्लबहरुलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक गणेश राईले बताउनु भयो । प्रतियोगिता बाँके जिल्ला फुटबल संघको नियम अनुसार आयोजना गरिने संयोजक राईले बताउनु भयो । आइतबार प्रतियोगिता आयोजनाका बारेमा छलफल गर्नको लागि क्लबले विशेष भेलाको समेत आयोजना गरेको थियो । भेलामा बाँके जिल्ला फुटबल संघका महासचिव एवम् क्लबका संस्थापक महासचिव कमल खत्री, संस्थापक गणेश राई लगायतको सहभागिता रहेको थियो । महासचिव कमल खत्रीले प्रतियोगिताको स्तरलाई बढाउन देश–विदेशमा रहनु भएका सम्पुर्ण शुभचिन्तक र फुटबल प्रेमीहरुलाई सहयोग गर्न अपिल गर्नु भयो । उहाँले भन्नु भयो, ‘खजुरा खेलकुदको लागि उर्वर भुमी हो । यहाँबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भएका छन् । अब योगिनी कपलाई निरन्तरता दिदैं युवालाई फुटबल प्रति लगाव बढाउन प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने विश्वास छ ।’ प्रतियोगिताको व्यवस्थापनलाई बलियो बनाउन क्लबका अध्यक्षका कमल पुनको संयोजकत्वमा मुल आयोजक समिति, संस्थापक गणेश राई प्रतियोगिता संयोजक, संस्थापक महासचिव कमल खत्रीको संयोजकत्वमा समन्वय र प्रचारप्रसार उपसमिति, वरिष्ठ सदस्य भोपाल शाहीको संयोजकत्वमा आर्थिक उपसमिति समेत गठन गरिएको छ । प्रतियोगिताको पुरस्कार राशीको बारेमा छिटै सार्वजनिक गरिने क्लबले जनाएको छ ।
Back to news