December 08, 2025
पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपालले एएफसी यु-१७ एसियन कप छनोटमा तुर्किमिनिस्तानविरुद्ध दूर्भाग्यजनक बराबरी खेलेको छ ।
बुधबार चोनबुरी रंगशालामा सम्पन्न समूह ‘एफ’को खेलमा तुर्किमिनिस्तानका गोलकिपर लेली शारिपोभा नेपालले गोल गर्न नसक्नुको मुख्य कारण बनिन् । नेपालका आधा दर्जनभन्दा बढी अवसरमा शारिपोभा बाधक बनिन् ।
मुसलधारे वर्षाबीच हिलाम्मे मैदानमा नेपालले खेल अवधिभर तुर्किमिनिस्तानलाई दबाबमा राख्यो । तर, गोल भने निस्किएन । नेपालले सातौं मिनेटमा पहिलो अवसर सृजना गरेको थियो । तर, बक्सभित्रबाट कप्तान भूमिका बुढाथोकीको लेफ्ट फुटेड प्रहार गोलकिपर लेली शारिपोभाले बचाइन् । ३३औं मिनेटमा मिडफिल्डर बब्तिका कार्कीको कर्नरमा फरवार्ड अनिता रानामगरको हेडरले गोलपोस्टको दिशा लिन सकेन । पाँच मिनेटपछि भूमिकाको पासमा फरवार्ड यमुकमारी बिकको फस्ट टच प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । एक मिनेटपछि बब्तिाको सुन्दर थ्रु पासमा अनिताको प्रहार शारिपोभाले बचाइन् ।
खेलको ४९औं मिनेटमा भूमिका र अनिताले तुर्किमिनिस्तानको अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउन सकेनन् । ६१औं मिनेटमा भूमिकाको पासमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी स्ट्राइकर पूजा गिरीको प्रहार शारिपोभाले बचाइन् । तीन मिनेटपछि अनिताको ‘एटेम्प्ट’मा पुनः शारिपोभा बाधक बनिन् ।